रेखा र लय हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत

२०७५ मंसिर १८
रेखा र लय हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत

अभिनेत्री रेखा थापा र कलाकार/निर्देशक लय संग्रौलालाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा थापा र संग्रौलालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

संग्रौलालाई तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रमा सक्रिय रही सन्देशमूलक टेली चलचित्रमार्फत कला क्षेत्रमा योगदान दिएको र थापालाई नेपाली चलचित्र निर्माण, निर्देशन र अभिनयमार्फत निरन्तर योगदान पुर्याएको भन्दै ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ प्रदान गरिएको जनाइएको छ । दुबैलाई जनही २५ हजार रुपैयाँ सहित ताम्रपत्रबाट पुरस्कृत गरिएको हो ।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीन नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भुसाल र अन्तर्राष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणाले राजधानीमा आयोजित समारोहबीच यी दुई सिनेकर्मीलाई पुरस्कार प्रदान गरे । मायांका र माहिकाका पिता मनोज शमशेर जबराले स्थापना गरेको पुरस्कार चलचित्रसम्बन्धी पुरानो पुरस्कार मानिन्छ ।

यस्तै, १० हजार रुपैयाँ राशिको ‘दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार–२०७५’बाट नाट्यकर्मी एवं अभिनेता उत्तम केसी पुरस्कृत भएका छन् । तीन दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याएको भन्दै उनलाई पुरस्कृत गरिएको पुरस्कारका संस्थापक मोहन निरौलाले बताए । यस्तै, चलचित्र क्षेत्रको संरक्षण र संवद्र्धनमा तीन दशकदेखि योगदान पुर्याएको भन्दै चलचित्रकर्मी तथा सञ्चारकर्मी विजयरत्न तुलाधरलाई पनि सोही पुरस्कार प्रदान गरिएको छ । परिवर्तन नेपालले गत सालदेखि यो पुरस्कार स्थापना गरेको हो ।

पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक तथा निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रिय रहेका थिए ।

सोही कार्यक्रममा अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरियो ।

Mansara